आषाढको एक शुक्रबारको साँझ बिश्वविद्यालयबाट घरतिर फर्कने क्रममा अलि ढिला भो । घरसम्म पुग्नलाई माइक्रो, अनि नगर बस सबैको आवातजावत बन्द भैसेकेको थियो । हिडेर एक घण्टाको पैदल यात्रा गर्ने दुस्साहस मैले गरिनँ । त्यसकारण, ट्याक्सीको पखाईमा त्यसै उभिरहेको थिएँ ।
आडैमा एउटी युवती आई । मतिर पुलुक्क हेर्दै मुसुक्क मुस्कुराई । मैले पनि मुस्कुराएरै उसको आगमनको स्वागत गरेँ । सोधी – “दाई ट्याक्सी कुर्नुभएको ?” “हजुर ।” मैले जवाफ दिएँ ।
“म पनि ट्याक्सी वेट गरिराखेको हेर्नु न अहिलेसम्म एउटा भेटेको छैन ।” युवतीले दुखेसो पोखी । मैले प्रश्न गरेँ – “कहाँ जानुपर्ने ?” “धेरै टाढा त हैन, मुस्ताङचोक सम्म पुग्नुपर्ने थियो ।” जवाफमा उसले भनी । उसको मुखबाट मुस्ताङचोक फुत्कदाँसाथ ममा नजानिदो उत्साह बढेर आयो ।
भनेँ – “ए, हो र ? म पनि त मुस्ताङचोक नै जान लागेको नी !” “ला हो र ? उसो भए त मज्जा भो नी, हजुर अनि मेरो दुवैको फिप्टी प्रसेन्टेज पैसा सेभ हुने भो नी त । एक्लै जाँदा त ४०० लिन्छ । अब दुई सयमै पुगिने भईयो ।” उसले खुशी ब्यक्त गरी । मैले पनि समर्थन जनाएँ – “हो त ।” अनि यो पनि जान्न चाहेँ कि ऊ के गर्छे ? संक्षेपमा भनी – “कलेज पढ्छु ।” “कतिमा पढ्नुहुन्छ ?” मेरो भद्र प्रश्न थियो । उसकोे सरल जवाफ पाएँ – “बि.ए. सेकेन्ड यार ।” “केहि जबसब पनि गर्नुहुन्छ कि ?” भर्खर बिश्वविद्यालयको पढाई सक्काएर करार प्राध्यापक नियुक्त भएको मैले उसलाई सोधेँ ।
धेरै खुल्न नचाहेर होला संक्षेपमै जवाफ फर्र्काई उसले – “खास्सै केहि गर्दिनँ !” र, यस्तो भन्दै गर्दा मुसुक्क मुस्कुराउन पनि बिर्सिने उसले । “अनि मुस्ताङचोक चाँहि किन जान लाग्नुभएको ?” मैले सोधेँ । जवाफमा भनिनँ – “मेरो डेरा नै उतै हो ।” अझ बढि जान्न मन लाग्यो त्यसकारण सोधिहालेँ – “कोको बस्नुहुन्छ डेरामा ?” “ममात्रै !” उसले जवाफ फर्काउदै भनी । “साँच्ची काम चाँहि केहि गर्नुहुँदैन ?”
फेरि जोड दिदै सोधेँ । “अम् त्यस्तो खास केहि छैन । कलेज फि तिर्न, यहाँ बस्ने खर्च चलाउन र घरमा भएकी विधुवी आमा र दुई बैनीको पढाईखर्च सघाउनलाई सानो काम चाँहि गर्छु ।” सरसर्ती उसले बताई । “सानो काम ?” मैले आश्चर्यता प्रकट गरेँ । किनकी, मलाई अचम्म लाग्नुको कारण मलाई जान्नु थियो त्यो कस्तो सानो काम हो जसले यत्रा धेरै मान्छेको खर्च पुर्याउन सकोस् ! “एम कर्लगर्ल !” निर्धक्कसाथ उसले भनी । अहँ ! ग्लानीबोधको सानो धर्सापनि उसको मुहारमा झल्किएको देखिनँ मैले ।
म अवाँक रहेँ । धेरैबेर चुप लागेर बसेको देखेपछि उसले आफै सोधी – “विश्वास लागेन हजुरलाई ? अहिले पनि म यहाँ कसैले बोलाएर आएकी थिएँ तर यहाँ आईसकेपछि बोलाउने मान्छेले भन्यो उसकी श्रीमती अचानक माइतबाट फर्की रे भर्खर । त्यसैले डेरामा फर्किन लागेको अहिले ।” म फेरि पनि निशब्दः रहेँ । तालचोकबाट ट्याक्सी हुत्तिदै हामीनेर आयो । युवतीले आवाज दिईन – “ट्याक्सी..” “दाईको घर नै यता हो र ?” ट्याक्सीभित्र पस्नुभन्दा अगाडि केहिबेर अगाडिदेखि स्थगित वार्तालापलाई पुनः सुचारु गर्दै युवतीले यस्तो प्रश्न गरीँ । जबाफमा मैले भनेँ –“यता हैन । पोखराबाहिर हो ।” ट्याक्सीचालकले युवतीलाई हेर्दै सोध्यो – “कहाँसम्म ?” मैले जवाफ फर्काएँ – “मुस्ताङचोक !” असहजिलो तरिकाले उसको दृष्टि मतिर सोझियो ।
ट्याक्सी गुड्दासाथ मलाई उसलेमात्र सुन्ने गरेर सानो आवाजमा धेरै कुराहरु सोध्न मन लाग्यो । खासमा अघिदेखि मलाई खसखस लागेको उसको कामको विषयले निकैबेर घोत्लिन विवश बनाउँदै थियो । त्यहि खसखसका बीच मैले सोधेँ पनि –“यस्तो गरिरहेकोमा रिग्रेशन हुँदैन हजुरलाई ?” मेरो छुच्चो प्रश्नमा थोरै आवेशात्मक जवाफ दिदै भनी – “ह्वाट द फक रिग्रेशन इज ? अनि मैले किन रिग्रेट फिल गर्नुप¥यो ?” चालिस पार गरिसकेको जस्तो लाग्ने ट्याक्सी चालकले हामीतिर एकदम कुटनैतिक नजर लगायो । मलाई थोरै असहज महशुस भो । “हजुरलाई हर्ट गरे हैं ? माफ गर्नु ल मलाई । एम सरी ल!”
गल्तीगरेपछि म सधैं यस्तै विनित भावमा प्रस्तुत हुन्छु । धेरैले भन्ने गरेका पनि छन्, माफी माग्दै गर्दाको क्षण म निकै नै मायालाग्दो रुपमा प्रस्तुत हुन्छु । उसले पनि मेरो टिठलाग्दो भावलाई देखेरै नै माफ गरेको हुनुपर्छ, भनी – “हैन हैन इट्स ओके । हजुर मात्र हैन, धेरै भद्र मान्छेहरुलाई जब म मेरा सत्यताहरु लुकाउँदिन उनीहरुका प्रश्नहरु हजुरकै जस्तै हुन्छन् – तिमीलाई रिग्रेशन फिल हुँदैन ?” केहिबेर सन्नाटा छायो । अनि मेरा आँखाहरू झ्यालबाहिर हुत्तिए । चालकले एफ. एम. बजायो, बाराही एफ.एम.मा गीत बजिरहेथ्यो – फेरि त्यो दिन सम्झन चाहन्नँ ..। उसले चालकलाई आग्रह गर्दै भनिनँ – “दाई, भोलुम अलि सानो पार्नु न ! ” ड्राइभरले त्यसै ग¥यो । त्यसै मौकामा मैले उसलाई हेरेँ अनि उनी चुपचाप बसेकोमा असन्तुष्टि पनि पोखेँ – “हैन, किन यस्तो चुपचाप बस्नु भएको ? के भयो ?” केही नभएको जानकारी दिदै बोली – “हैन केहि भएको छैन ।” एकछिन पछि फेरि वार्ता सुचारू गर्दै उसले प्रश्न गरी – “हजुर म्यारिड हो ?” मैले निर्धक्क भनेँ – “नो, नो, स्टील ब्याचलर्स !” “गर्लफ्रेन्ड नि ?” ख्वै किन यस्तो प्रश्न गरी मैले बुझिनँ । तैपनि जवाफ दिएँ – “पहिले थिई, अहिले छैने !” “मेरो जस्तै ठ्याक्कै !
झन मेरो त अफेयर शुरु भएको तीन महिना मै ब्रेकअप भा’को नी ।” मैले जान्न चाहेँ – “अनि अहिले चाँहि?” लिपिष्टकले रात्तिएका ओठबाट बिन्दास जवाफ निस्क्यो – “सिंगल, टोटल्ली फ्रिडम । मस्त जिन्दगी !” मलाई मनमनै लाग्यो, केटी मज्जाकी नै हो । मान्छे पनि सारै नै सुन्दरी हो । चल्तीका मोडल र नायिकाहरुको भन्दा कुनै पनि कुरामा कम लागेन । मुहार धपक्कै बलेको छ । केश लामो छैन त के भो ? सर्लक्कको छ । आँखा पनि डोलमडोल कति राम्रा ? नाक पनि खास खोट लगाउने ठाउँ नै भेटिन् ।
मान्छे सिनित्त परेकी छे । तर कर्लगर्ल हो भन्ने सत्य दिमागमा आउँदा साथ झसंग भएँ । मुस्ताङचोकमै आएपछि ट्याक्सी रोकियो । मैले दुवैको भागको पैसा दिन खोज्दै थिएँ, युवतीले रोकी । र, भनी – “नो, नो, फिप्टी फिप्टी !” युवतीको हातबाट दुईसय र मबाट पनि उत्तीकै पैसा समातेर ड्राइभरले ट्याक्सी अगाडि बढायो । ट्याक्सी गईसकेपछि युवतीले मतिर हेर्दै भनी – हतार छैन भने हिड्नुस, मेरो डेरामा । खाना खाएर निस्किनुहोला ! मोबाइलमा हेरेँ, साढे नौ बज्दै थियो । केही नबोली उसको पछिपछि लागेँ ।